विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी चर्चित सोसल मिडिया इन्फ्लुएन्सर आइशोस्पीड माथि भएको भनिएको रङ्गभेदी दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु गरेको छ। फिफाका अनुसार जुलाई ३ मा अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको विश्वकपको अन्तिम ३२ चरणअन्तर्गत अर्जेन्टिना र केप भर्डबीचको खेलका क्रममा उक्त घटना भएको बताइएको छ। खेलमा अर्जेन्टिनाले केप भर्डलाई ३–२ ले पराजित गरेको थियो।
युट्युबमा करिब ५ करोड ७० लाख सदस्य र टिकटकमा ५ करोड ३० लाखभन्दा बढी समर्थक रहेका २१ वर्षीय आइशोस्पीड प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण गर्दै आएका छन्। सार्वजनिक भएको भिडियोमा केप भर्डको जर्सी लगाएका आइशोस्पीड एक अर्जेन्टिनी समर्थकसँग विवादमा परेको देखिन्छ, जहाँ उनीमाथि रङ्गभेदी दुर्व्यवहार भएको आरोप लगाइएको छ।
घटनापछि फिफाले विज्ञप्ति जारी गर्दै फुटबल एकता, विविधता र सम्मानको खेल भएको उल्लेख गरेको छ। फिफाले भनेको छ, “फिफा विश्वकप विश्वभरका मानिस, संस्कृति र समुदायलाई एकै ठाउँमा ल्याउने उत्सव हो। यी मूल्यमान्यतालाई कमजोर पार्ने कुनै पनि व्यवहारलाई हाम्रो खेलमा स्थान छैन।” साथै घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
यो घटना केही दिनअघि फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले पराग्वेकी सिनेटर सेलेस्टे अमरिलाको रङ्गभेदी टिप्पणीको कडा आलोचना गरेको घटनापछि सार्वजनिक भएको हो। अमरिलाले विश्वकपको अन्तिम १६ चरणमा आफ्नो देश फ्रान्ससँग पराजित भएपछि सामाजिक सञ्जाल एक्समा विवादास्पद टिप्पणी गरेकी थिइन्।
बीबीसीका अनुसार फ्रान्सेली फुटबल महासङ्घले अमरिलाको टिप्पणीलाई “पूर्ण रूपमा घृणास्पद र अक्षम्य” भन्दै उनीविरुद्ध आपराधिक मुद्दा दायर गर्ने तयारी गरेको छ।














