खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

Image

नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध कारोबार गर्ने काठमाडौं नागार्जुनका २७ वर्षीय मनिष श्रेष्ठ, २१ वर्षीय रोहित महर्जन र काठमाडौं महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागुऔषध कारोबार गर्ने गिरोहलाई ३०० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका मनिष यसअघि पनि लागुऔषध मुद्दामा सात महिना कैद भुक्तान गरी एक लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति रहेका उनले बताए ।

प्रहरीले निजहरूको साथबाट ३०० ग्राम लागुऔषध खैरो हेरोइन, एक थान स्कुटर र तीन थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।