देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ५८ वटा विपद्का घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार घटनाबाट करिब २९ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, विभिन्न स्थानमा छ वटा सडक अवरुद्ध भएका छन् ।
घटनामध्ये सबैभन्दा धेरै पहिरोका २३ वटा घटना दर्ता भएका छन् । त्यसपछि आगलागीका १४, बाढीका पाँच, चट्याङका एक, हावाहुरीका एक तथा जनावरसँग सम्बन्धित एक घटना भएका छन् ।
यी घटनाबाट ४५ जिल्ला प्रभावित भएका छन् । विवरणअनुसार बाढीका घटनाबाट दुई जनाको मृत्यु भएको छ भने अन्य घटनामा एक जनाले ज्यान गुमाएका छन्। घाइतेमध्ये अधिकांश आगलागी र जनावरसँग सम्बन्धित घटनाका छन् ।
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका घटना बढिरहेका छन् । प्राधिकरणले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा सडक क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।














