मनसुनमा उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह, २४ घण्टामा ४७ विपद्का घटना

Image

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, कटान, डुबान, चट्याङ र सर्पदंशलगायतका विपद्को जोखिम उच्च रहेको भन्दै सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनामा जनधनको क्षति न्यूनीकरण गर्न यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन, वर्षाको समयमा अनावश्यक यात्रा नगर्न तथा विशेष गरी रातिको समयमा यात्रा सकेसम्म टार्न अनुरोध गरिएको छ।

बाढी आएको बेला खोला, खोल्सा वा नदी तर्ने प्रयास नगर्न, वर्षा भइरहेको समयमा माछा मार्न, पौडी खेल्न वा दाउरा टिप्न नदी तथा खोलामा नजान र पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

यस्तै, जोखिमयुक्त पुल वा नदी किनारमा उभिएर फोटो तथा भिडियो नखिच्न, पैदलयात्रा वा हाइकिङमा सकेसम्म एक्लै नजान तथा विपद्को संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई जानकारी गराउन भनिएको छ।

प्राधिकरणले घर वरपरका ढल तथा नाली सफा राख्न, सर्पदंशको जोखिम न्यूनीकरणका लागि घरआँगन सफा राख्न र रातिको समयमा बाहिर निस्कँदा टर्चलाइट प्रयोग गर्न पनि सुझाव दिएको छ।

चट्याङ पर्ने सम्भावना देखिएमा सुरक्षित स्थानमा जान, महत्वपूर्ण कागजात, अत्यावश्यक औषधि र नबिग्रने खाद्यान्न एउटै झोलामा तयारी अवस्थामा राख्न तथा मोबाइलमा पर्याप्त ब्याट्री चार्ज र ब्यालेन्स राख्न पनि अनुरोध गरिएको छ।

प्राधिकरणले अफवाहको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न र मौसम तथा विपद्सम्बन्धी जानकारी नियमित रूपमा पछ्याउन आग्रह गरेको छ। विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि १२३४, १०० र १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

यस वर्षको मनसुन असार ५ गतेदेखि सुरु भएको हो। मनसुन अवधिमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सतर्कता अपनाउन प्राधिकरणले पुनः आग्रह गरेको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना भएका छन्। प्राधिकरणका अनुसार ती घटनाबाट करिब १३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ। विपद्का कारण तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्म सर्पदंशका ८, आगलागीका ८, पहिरोका १४, अविरल वर्षाका ८, जनावर आक्रमणका ३, बाढीका २ र हावाहुरीको १ घटना दर्ता भएको प्राधिकरणले जनाएको छ।