प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’को हिमपहिरोमा ज्यान गुमाएका निर्मला पुर्जासहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शनिबार फेसबुकमार्फत प्रधानमन्त्री बालेनले मृत्युले आरोहीको भौतिक यात्रा मात्रै रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने बताएका छन् ।
‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो,’ प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ ।’ तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उनले बताएका छन् ।
‘विश्वको १२ औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत-शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित आरोहीहरूको दु:खद निधनले स्तब्ध बनाएको छ,’ उनले लेखेका छन् ।
‘निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन् ।
यस्तै, सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति समवेदना व्यक्त गरेका छन् ।















