बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

Image

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १,००० मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन् ।  

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद श्रेष्ठले बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको र प्रसारण, वितरण तथा उत्पादन संरचनामा क्षति पुग्दा राष्ट्रिय विद्युत् प्रणालीमा करिब १,००० मेगावाट उत्पादन अवरुद्ध भएको बताए  । 

हालैको वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा १३ आयोजनाका करिब ३७० मेगावाट उत्पादन प्रभावित भएको उनले बताए । उनले विद्युत् उत्पादनसँगै प्रसारण पूर्वाधार नहुँदा विद्युत् प्रवाह गर्न समस्या देखिएको उल्लेख गरे ।

हेटौंडा–ढल्केबर प्रसारण लाइन चार्ज भएपछि पूर्वको विद्युत् पश्चिम र पश्चिमको विद्युत् पूर्व लैजान सहज हुने र यसले पूर्व–पश्चिम जोड्ने समस्या समाधान गर्ने उनले बताए  । 

उनले प्रणाली व्यवस्थापनका लागि आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदै अपुग विद्युत् भारतबाट आयात गरी व्यवस्थापन भइरहेको जानकारी दिए।