सरकारलाई अमरेशको प्रश्न– मधेसमा किन लाठिचार्ज हुँदैन, गोली चल्छ ?

Image

 रास्वपा सांसद डा. अमरेशकुमार सिंहले मधेसमा लाठिचार्ज र टियर ग्यास प्रहार नगरी सिधै गोली हान्ने गरिएको भन्दै सरकारमाथि प्रश्न गरेका छन् । मधेस आन्दोलन, थारु आन्दोलनदेखि स–साना आन्दोलनसम्म मधेसमा गोली चल्ने गरेको भन्दै राज्यको दृष्टिकोण के हो भन्दै उनले प्रश्न उठाएका हुन् ।

“सभामुख महोदय म यो राज्यलाई प्रश्न गर्न चाहन्छु– मधेसमा मात्र आन्दोलनमा गोली किन चल्छ ? मधेस, थारु जो सुकैको होस् गोली किन चल्छ, टियर ग्यास किन चल्दैन ?,” सिंहले भने, “दुनियाँमा कसैको पनि प्रहरीसँग एसएलआर हुँदैन । हाम्रोमा किन दिइन्छ ? मधेसमा लाठिचार्ज र टियर ग्यास किन हान्दैन ? सिधै गोली किन ठोक्छ ?” 

प्रहरीलाई हतियार दिएर परिचालन गर्दा आन्दोलनकारीले प्रहरीलाई ढुंगा हान्यो भने त्यसको बदलामा गोली हान्ने गरेको उनको दाबी छ । 

नागरिकको आन्दोलनमा नागरिक उपायभन्दा सैन्य समाधानको खोजी भएको भन्दै उनले आपत्ति जनाए । 
“सरकार मधेसमा हजारौँको संख्यामा प्रहरी, सशस्त्र र आर्मी परिचालित गर्छ,” उनले प्रश्न गरे, “तर, हजारौंको संख्यामा शिक्षक परिचालन गर्दैन । के यो सरकार आर्मी प्रहरी झैँ शिक्षक परिचालन गर्न सक्दैन ? जनतालाई शिक्षित बनाउन राज्य लाग्न सक्दैन ?”

उनले विगत दुई हप्ता तराई–मधेस असामान्य अवस्थामा गुज्रिएको बताए । उनले कप्तानगञ्ज घटनामा चारजना युवाले ज्यान गुमाएको बताए । 

रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय छलफका लागि लिएको पहलका लागि उनले धन्यवाद दिए । 

“प्रधानमन्त्रीले ढिलै भए पनि राष्ट्रका नाममा संवोधन गर्नुभयो, धन्यवाद छ,” उनले भने ।