आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा तर्पण र पिण्डदान गरिँदै

Image

हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहने पितृपक्षमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ।

सोह्र वटा तिथिमा पितृप्रति श्रद्धापूर्वक श्राद्ध तथा पितृकार्य गरिने भएकाले नेपाली समाजमा यसलाई ‘सोह्रश्राद्ध’ भन्ने गरिन्छ। हिन्दू परम्परामा चाडपर्व, यज्ञ तथा ठूला धार्मिक कार्य गर्नुअघि आफ्ना पितृलाई श्रद्धापूर्वक स्मरण गर्ने चलन रहिआएको छ।

बडादशैं र तिहारजस्ता प्रमुख चाडपर्वअघि पर्ने सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व सम्झाउने धार्मिक तथा सांस्कृतिक मान्यता छ। यस अवधिमा पितृको तर्पण, पिण्डदान, श्राद्ध तथा दान गर्ने गरिन्छ।

सोह्रश्राद्ध सुरु भएसँगै काठमाडौंको पशुपति क्षेत्रलगायत विभिन्न तीर्थस्थलमा दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्न श्रद्धालु पुग्ने गर्छन्।

यस्तो छ शास्त्रीय विधान

धार्मिक मान्यताअनुसार प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औँसी र पूर्णिमाका तिथिमा पितृको श्राद्ध तथा तर्पण गर्ने विधान रहेको छ।

आफ्ना परिजनको मृत्यु भएको तिथि थाहा नभएकाहरूले पितृपक्षको पञ्चमी, अष्टमी, द्वादशी वा औँसीका दिन श्राद्ध गर्ने चलन रहेको बताइन्छ। मृत्यु भएको समयमा परेको तिथिका आधारमा सम्बन्धित पितृको श्राद्ध गर्ने परम्परा छ।

श्राद्धका क्रममा पितृलाई तर्पण तथा पिण्डदान गरी भोजन र दानसमेत अर्पण गरिन्छ। तर्पणमा पवित्र जल, कुश, जौ, तिल, फूल, चन्दनलगायत सामग्री प्रयोग गर्ने परम्परा छ। पिण्डदानमा दूध तथा खिरबाट तयार गरिएका पिण्ड प्रयोग गर्ने र गुरु–पुरोहितको निर्देशनअनुसार धार्मिक विधि पूरा गर्ने चलन छ।

धार्मिक ग्रन्थहरूमा समेत पितृपक्ष तथा श्राद्ध कर्मको महत्त्व उल्लेख गरिएको पाइन्छ। विशेषगरी ‘गरुड पुराण’, ‘विष्णु पुराण’ र ‘महाभारत’मा पितृकर्मसम्बन्धी विभिन्न प्रसङ्ग उल्लेख छन्।

शास्त्रीय विधानअनुसार एकोद्दिष्ट अर्थात् वार्षिक तिथिमा गरिने श्राद्ध मध्याह्नकालमा, पार्वण श्राद्ध अपराह्नकालमा र आभ्युदयिक श्राद्ध प्रातःकालमा गर्ने उल्लेख छ।

परम्पराअनुसार श्राद्ध सकेसम्म आफ्नै घरमा गर्नुपर्ने मान्यता छ। सहरी क्षेत्रमा डेरामा बस्नेहरूका लागि भने नजिकको तीर्थस्थल, नदी, मन्दिर वा तुलसीको मठमा तर्पण तथा श्राद्ध गर्ने चलन पनि छ।

पितृपक्षका बेला पितृहरू पितृलोकबाट पृथ्वीतलमा आउने र आफ्ना सन्तानबाट तर्पण, पिण्डदान तथा श्राद्धको अपेक्षा गर्ने धार्मिक विश्वास रहिआएको छ। श्रद्धापूर्वक पितृकार्य गरेमा पितृ प्रसन्न भई परिवारमा सुख, शान्ति, समृद्धि तथा वंशवृद्धिको आशीर्वाद दिने विश्वाससमेत नेपाली हिन्दू समाजमा पाइन्छ।