प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले धनकुटा नगरपालिका वडा नं. १ हिले क्याम्पस नजिक सडकमा शंकास्पद रुपमा हिँडिरहेका व्यक्तिलाई जाँच गर्ने क्रममा खैरो हेरोइन बरामद गरेको हो ।
पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका वडा नं. ७ मुगा टोल बस्ने ३२ वर्षीय हरि तामाङ रहेका छन् । उनको शरीर खानतलासी गर्दा गोजीमा लुकाइ राखिएको हरियो प्लास्टिकमा प्याक गरिएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार १८ वटा साना प्याकेटमा राखिएको उक्त पदार्थको तौल प्लास्टिक सहित १ ग्राम ६ सय ८० मिलिग्राम र प्लास्टिकबाहेक १ ग्राम रहेको प्रहरीेले जनाएको छ । पक्राउ परेका तामाङलाई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















