पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुई घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
मुग्लिन–नारायणगढ सडकअन्तर्गत सिमलताल नजिक मंगलबार बिहान पहिरो खस्दा दुवैतर्फको यातायात पूर्ण रूपमा ठप्प बनेको थियो।
पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय भरतपुरको टोली मेसिन तथा उपकरणसहित घटनास्थलमा पुगेको थियो। पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुवैतर्फ सञ्चालन मा आएको हो।
सडक खुलेसँगै रोकिएका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ अघि बढ्न थालेका छन्।
सडक डिभिजन कार्यालयले वर्षायाममा सो क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।















