आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न

Image

 आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई प्रोत्साहन तथा सम्मान प्रदान गर्ने उद्देश्यले ‘आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६’ सम्पन्न गरेको छ।

श्रावण १५ गते शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित उक्त समारोहमा ३५० भन्दा बढी अभिकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

कम्पनीमा आवद्ध भई दिन-रात कार्य गर्ने अभिकर्ताहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीको उल्लेख्य प्रगतिमा अभिकर्ताहरूको मेहनत र प्रविधिको प्रयोग मुख्य आधार रहेको बताए।

साथै, आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षको अवधिमा कम्पनीले उत्साहजनक गति लिएको र प्रविधिको उपयोग गर्दै सेवा प्रवाहमा फड्को मारिरहेको उल्लेख गरे।

सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै कम्पनीले उनीहरूको व्यावसायिक क्षमता विकासका लागि तालिमहरू आयोजना गरी सहयोग गरिरहने बताए।

यसैगरी, प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको उल्लेखनीय व्यवसायिक सफलतामा अभिकर्ताहरूको मुख्य भूमिका रहेको भन्दै आगामी दिनमा डिजिटल सेवा प्रवाहलाई थप उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे।

समारोहमा आर्थिक वर्ष २०८२/८3 मा उत्कृष्ट कार्य गर्ने तथा धेरै बीमालेख जारी गर्ने अभिकर्ताहरूलाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा निर्देशकहरू विनोद केसी, उषा ढकाल, सुनील कुमार पोखरेल र सन्दीप अग्रवाल लगायतले अवार्ड वितरण गरेका थिए।