जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

Image

नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलको धावनमार्गमै दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार १३ जना यात्रु बोकेर आएको जहाजको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि धावनमार्गमै दुर्घटना भएको हो।

डिएसपी अनिल गिरीका अनुसार जहाजमा सवार सबै यात्रु सकुशल छन्। जहाज धावनमार्गमै रोकिएपछि विमानस्थलको उडान तथा अवतरण सेवा प्रभावित भएको छ।

जहाज आज बिहान ८ बजेर २५ मिनेटमा जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। जहाजको कलसाइन नाइन–एन–एजेएच रहेको र त्यसमा सात जना विदेशी नागरिकसमेत रहेको प्रहरीले जनाएको छ।

जहाज धावनमार्गमै रहेकाले अन्य विमानले अवतरण गर्न सकेका छैनन्। अहिले धावनमार्ग मर्मत तथा जहाज हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारण जुफाल विमानस्थलबाट हुने अन्य उडानसमेत अवरुद्ध भएका छन्।