लाइसेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल

Image

नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ९३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्। काउन्सिलले साउन ७ र ८ लिएको विशेष परीक्षामा ९३.४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्। स्नाकोत्तर तह (पीजी) का ३६ विषयमा भएको परीक्षामा एक हजार १३ जना सम्मिलित भएका थिए। तीमध्ये ६५ जना भने अनुत्तीर्ण भएका छन्। 

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले नेपालका सरकारी मेडिकल कलेजमा पढेका चिकित्सक बढी उत्तीर्ण भएको बताए। उनले नेपालका मेडिकल कलेजबाट स्नाकोत्तर (पीजी) गरेका ९१९ जनामध्ये १५ जना मात्र अनुत्तीर्ण भएको बताए। 

निजी र सरकारी गरी १४ मेडिकल कलेजमा पढेका चिकित्सकले लाइसेन्सका लागि परीक्षा दिएका थिए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) पढेका शतप्रतिशत उत्तीर्ण भएका छन्। १०३ जनाले लाइसेन्स परीक्षा दिएका थिए। 

काठमाडौँ विश्वविद्यालयको स्कूल अफ मेडिसिन, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिकल कलेज, किस्ट कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका मेडिकल कलेजका शतप्रतिशत चिकित्सकले लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन्। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १०२ जनाले दिएको परीक्षामा ९८ जना उत्तीर्ण भएका छन्।