एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु

Image

नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज बिहीबारदेखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने यो पर्व नेपाल संवत्अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म चल्छ।

गुँला पर्व सुरु भएसँगै काठमाडौंको स्वयम्भू महाचैत्यमा भक्तजनको चहलपहल बढेको छ। पर्व अवधिभर बौद्धमार्गीले विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्ने तथा विशेष पूजा–आराधना गर्ने गर्छन्।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुन्छ। नेपाल संवत् सुरु भएको नौ महिना पूरा भएपछि मनाइने भएकाले यस पर्वलाई गुँला भनिएको हो। पर्वका दुई पक्षलाई ‘गुँलाथ्व’ र ‘गुँलागा’ भनिन्छ।

गुँला पर्वका अवसरमा दैनिक स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुका साथै बौद्धनाथ, पाटनको पुलचोक तथा उपत्यकाका विभिन्न स्थानमा रहेका चैत्यको समेत परिक्रमा गर्ने परम्परा छ। टोल–टोलबाट समूहमा बाजागाजासहित निस्किएर चैत्य तथा स्थानीय देवीदेवताको पूजा र परिक्रमा गर्ने चलनसमेत रहेको छ।

पर्वको प्रमुख आकर्षणमध्ये परम्परागत ‘न्याकुँ’ बाजा पनि एक हो। राँगाको सिङबाट बनाइने न्याकुँसँगै धाः, धिमे, भुस्या, बाँसुरीलगायतका बाजा बजाएर गुँला पर्व मनाइन्छ। बाजागाजासहित चैत्यको परिक्रमा गर्नुका साथै गणेश, भीमसेन, भैरव तथा स्थानीय इष्टदेवताको पूजा–आराधना गर्ने गरिन्छ।

गुँला पर्व धार्मिक आस्थासँगै नेवार समुदायको मौलिक संस्कृति र सामुदायिक एकताको पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीको मुख्य काम सकिएपछि केही फुर्सदिलो हुने समय र अन्य चाडपर्वको आगमनसँग जोडेर समुदायमा खुसी साटासाट गर्ने परम्परा यस पर्वमा रहेको छ।

पछिल्ला वर्षमा गुँला पर्वमा मौलिक बाजागाजाको प्रयोग र सहभागिता बढ्दै गएको छ। यसले नयाँ पुस्तालाई समेत नेवार समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड्न सहयोग पुगेको स्थानीयको भनाइ छ।

अब एक महिनासम्म विभिन्न बाजागाजासहित चैत्य परिक्रमा, पूजा–आराधना तथा धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गर्दै गुँला पर्व मनाइनेछ।