जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको छ।
श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी हुन्।
यसैबीच, श्रेष्ठलाई बिहीबार नै काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। प्रहरीले उनलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो। जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति पाएपछि उनी प्रहरी हिरासतमा छन्।
अब सर्वोच्च अदालतमा हुने सुनुवाइबाट श्रेष्ठलाई थुनामा राख्नु कानुनी रूपमा उचित भए/नभएको विषयमा अदालतले आदेश दिनेछ।













