जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २९ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले आइतबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका साना नदीमा बहाव उल्लेख्य बढ्न सक्नेछ।
यी जिल्लाका केही साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आइतबार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
यसैबीच, भोलि र पर्सि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएर बहने केही साना नदीमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले विशेषगरी नदी तथा खोलाको आसपास बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचना हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।













