इजरायलद्वारा सिरियाको एयरबेसमा आक्रमण, अमेरिकाले गर्‍यो निन्दा

Image

संयुक्त राज्य अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इडलिब प्रान्तमा रहेको सैन्य हवाई अड्डामा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै अनावश्यक ‘तनाव बढाउने काम’ भनेको छ।

सिरिया र इराकका लागि अमेरिकाका राष्ट्रपतिका विशेष दूत टम ब्यारेकले ह्वाइट हाउसले सबै पक्षलाई सैन्य कारबाहीको सट्टा वार्ताको सहारा लिन प्रोत्साहन गर्ने बताएका छन्। 

उनले एक्समा लेखेका छन्, ‘हामी गम्भीर रूपमा चिन्तित छौँ कि अबु अल-दुहुर एयर बेसमा इजरायलले गरेको हवाई आक्रमण अनावश्यक रूपमा तनाव बढाउने कमद हो।’

उनले अगाडि लेखेका छन्,  ‘अल-सरा (सिरियाली राष्ट्रपति) सरकारले न त आक्रामक अडान अपनाएको छ न त प्रोक्सी सेना राखेको छ। बरु उसले इजरायलसँग तनाव कम गर्ने इच्छा बारम्बार व्यक्त गरेको छ। संयुक्त राज्य अमेरिकाले पहिले सैन्य कारबाहीको सट्टा कूटनीतिक संवादलाई प्रवर्द्धन गर्न दुई देशबिच वार्ता आयोजना गरिसकेको छ र त्यसो गरिरहनेछ।’

अमेरिका अझै पिन संवाद अगाडि बढ्ने रचनात्मक बाटो भएकामा विश्वास गर्ने उल्लेख गर्दै सबै पक्षलाई वार्तालाई प्राथमिकता दिन आग्रह उनले गरेका छन्।  कतारले पनि सिरियाको अबु अल-दुहुर एयरबेसमा इजरायलले गरेको हवाई आक्रमणको कडा निन्दा गरेको छ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इजरायलको हमला सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता र अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको बडापत्रको प्रावधानको स्पष्ट उल्लंघन भनेको छ।

बीबीसी फारसीका अनुसार सिरियाको विदेश मन्त्रालयले विमानस्थलमा भएको आक्रमणलाई ‘अन्यायपूर्ण’ भनी निन्दा गरेको छ। इजरायलले टर्की सेनालाई रोक्न भन्दै मंगलबार उत्तरपश्चिम सिरियाको एक हवाई अड्डामा आक्रमण गरेको थियो।