जेलेन्स्कीले हटाएका लोकप्रिय रक्षामन्त्रीले गरे युक्रेनमा निर्वाचनको माग

Image

युक्रेनका पूर्वरक्षामन्त्री माइखाइलो फेदोरोभले युद्धकै बीचमा देशमा राष्ट्रपतीय निर्वाचन गराउन माग गरेका छन् ।

उनको यो मागलाई फेब्रुअरी २०२२ मा रुससँग युद्ध सुरु भएयता राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको नेतृत्वका लागि उत्पन्न सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको बीबीसीले जनाएको छ ।

प्रजातन्त्रलाई रुसको बन्धक बनाउन नसकिने भन्दै फेदोरोभले मंगलबार युट्युबमा पोस्ट गरिएको भिडियोमा युक्रेन एक स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहन चाहको र यही उद्देश्यका लागि लडिरहेको बताए । रुसी आक्रमणयता युक्रेनमा मार्शल ल लागु छ, जसका कारण निर्वाचनहरू स्थगित गरिएका छन् ।

फेदोरोभलाई जेलेन्स्कीले नियुक्त भएको करिब ६ महिनापछि जुलाईको अन्त्यतिर अप्रत्याशित रूपमा रक्षामन्त्रीको पदबाट बर्खास्त गरेका थिए । उनको बर्खास्तगीपछि देशभर प्रदर्शनहरू भएका थिए । जेलेन्स्कीले उनको पछिल्लो भिडियोबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । भिडियोमा उनले जेलेन्स्कीको नाम उल्लेख गरेका छैनन् ।

जेलेन्स्कीले उनको बर्खातगीपछि गुप्तचर अधिकारी येभगेनी खुमारालाई कार्यवाहक रक्षामन्त्री नियुक्त गरेका छन् । जेलेन्स्कीको सरकारमा फेदोरोभलाई उपप्रधानमन्त्रीलगायत अन्य पदको प्रस्ताव गरिए पनि रक्षामन्त्रीकै रूपमा मात्र फर्कने बताएका थिए ।

रक्षामन्त्रीका रूपमा आफ्नो कार्यकालमा फेदोरोभले मन्त्रालयमा नयाँ ऊर्जा भरेको, भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गरेको तथा युद्धको अग्रपंक्तिमा सैन्य कार्यसम्पादन सुधार गर्न तथ्यांकको प्रयोग र विश्लेषणलाई प्राथमिकता दिएको श्रेय पाएका थिए ।

सेनाका कमान्डर–इन–चिफ ओलेक्सान्डर सिस्रिकीसँगको तनावका कारण उनको बर्खास्तगी  भएको बताइएको छ । हप्तौँसम्म चलेको विरोध प्रदर्शनले युक्रेनी राष्ट्रपतिमाथि दबाब बढाएपछि सिस्रिकीलाई पनि पदबाट हटाइएको थियो ।

फेदोरोभले युट्युब भिडियोमा आफ्ना व्यक्तिगत राजनीतिक योजनाबारे कुनै विवरण खुलाएका छैनन् । उनले देशले शासनको प्रणालीगत संकट सामना गरिरहेको र परिवर्तनसँग डराइरहेको बताए । साथै, उनले देशको युद्ध प्रयासमा बाधा पुर्‍याउने प्रमुख तत्वमध्ये भ्रष्टाचार पनि रहेको औँल्याए ।