बंगलादेशको राष्ट्रपतिमा मिर्जा आलमगीर निर्वाचित

Image

बंगलादेशको संसद्‍ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपति चयन गरेको छ। करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो ।

सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तर्फबाट उम्मेदवार बनेका मिर्जा फखरुल इस्लाम आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए । राष्ट्रपति चुनिएका आलमगीर सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख विरोधीमध्ये एक रहँदै आएका छन् ।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो । शेख हसिना अहिले भारतमा बस्दै आएकी छन् । बंगलादेशले भारतसँग उनको प्रत्यर्पण गर्न माग गरेको छ ।

आलमगीरले कठिन समयमा बीएनपीको नेतृत्व गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनलाई विभिन्न समयमा पटक–पटक गिरफ्तारसमेत गरिएको थियो ।

बंगलादेशमा राष्ट्रपतिको पद मुख्यतः औपचारिक मानिन्छ । तर प्रस्तावित सुधारअनुसार राष्ट्रपतिको पदलाई थप अधिकार प्रदान गर्न सकिने बताइएको छ, जसले देशका शीर्ष नेताहरूबीच शक्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।