राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। वनस्थलीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी, उम्मेदवार छनोट प्रक्रिया तथा पार्टी संगठन सुदृढीकरणलगायत विषयमा महत्वपूर्ण छलफल हुने भएको छ।
बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्नुका साथै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने तयारी गरेको छ। उम्मेदवार छनोटको प्रक्रिया र विधिबारे पार्टीका कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुने जनाइएको छ।
यस्तै, रास्वपाले लामो समयदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण तथा त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुनी र राजनीतिक खाका तयार गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ।
बैठकले पार्टीभित्र रिक्त रहेका तथा थप गर्नुपर्ने पदमा मनोनयन गर्ने, सचिवालय सदस्य तथा विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँटलगायत संगठनात्मक विषयमा पनि निर्णय गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, पार्टीका धारणा, गतिविधि तथा समसामयिक विषय सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषय पनि बैठकको कार्यसूचीमा समेटिएको छ।
आजको बैठकबाट स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, उम्मेदवार छनोट प्रक्रिया र राजनीतिक एजेन्डासम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।














