शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच भेटवार्ता

Image

 नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.  शेखर कोइरालाबिच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान १० बजे देउवा निवास चुनदेवी पुगेर नेता डा. कोइरालाले सभापति देउवासँग करिब आधा घण्टा संवाद गरेका हुन् । भेटमा पार्टीको पछिल्लो आन्तरिक राजनीति र आसन्न महाधिवेशनको विषयमा केन्द्रित रहेर कुराकानी भएको डा.  कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । 

कांग्रेसको संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, देउवा नेतृत्वको इतर समूहले यो कार्यतालिकाको विरोध गर्दै रोक्न अन्तरिम आदेश माग गर्दै आजै (शुक्रबार) सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ । 

यही सन्दर्भमा देउवा र डा.कोइरालाबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  इतर समूहले गत साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा सहभागी भए पनि डा. कोइराला बन्दसत्र र समापन समारोहमा भने उपस्थित भएका थिएनन् ।