आर्थिक मन्दीलगायतका कारण मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्यतर्फका १ हजार ९३८ उद्योग–व्यवसाय बन्द भएका छन् ।
मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १ हजार ११७ गरी १ हजार ९३८ उद्योग–व्यवसायको लगत कट्टा भएको हो ।
यद्यपि, सोही अवधिमा प्रदेशमा ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन् । मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार पर्सामा १ हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
गत आर्थिक वर्षमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन् ।
वाणिज्यतर्फ प्राइभेट फर्म ६ हजार १२२ र साझेदारी फर्म १८ वटा नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ वटा फर्म नवीकरण भएका छन् ।
नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट प्रदेश सरकारले ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सूचना अधिकारी महतोका अनुसार विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव तथा स्थानीय तहबाट समेत उद्योग दर्ता गर्ने क्रम बढ्नुजस्ता कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको हो ।














