भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी पूर्वी नवलपरासीको नारायणी नदी किनारमा बगेर आएका बेवारिसे शवको जमिनमुनि व्यवस्थापन सुरु गरिएको छ।
स्थायी तथा अस्थायी शवगृहको क्षमताभन्दा बढी शव भेटिएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्डअनुसार वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न थालिएको हो।
मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएका शवमध्ये डीएनए परीक्षणका लागि नमुना संकलन, संकेत नम्बर राख्नेलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि आइतबार २० वटा शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।
कावासोती नगरपालिका–३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहयोगमा शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार जमिनमुनि व्यवस्थापन गरिएका शव सुरक्षित रहने र पछि पहिचान खुलेमा परिवारलाई जिम्मा लगाइनेछ।
रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोपछि उद्धार तथा खोजीका क्रममा फेला परेका शव गैंडाकोट नगर अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पतालमा राखेर पहिचान तथा डीएनए परीक्षण भइरहेको छ।
गैंडाकोटदेखि विनयी त्रिवेणीसम्मको नारायणी नदी किनारमा हालसम्म १९४ वटा शव फेला परेका छन्। तीमध्ये ९ वटा शवको पहिचान भई आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।














