चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको जिरोङ (केरुङ) काउन्टीमा नदी थुनिएर बनेको ताल लगभग रित्तिएको छ। चीनको जलस्रोत मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा तालबाट पानीको बहाव सामान्य अवस्थामा फर्किएको जनाइएको छ।
मन्त्रालयका अनुसार ड्रोन फुटेज, प्यानोरामिक तस्बिर तथा घटनास्थलमा खटिएका आपतकालीन टोलीको प्रतिवेदनका आधारमा गरिएको पछिल्लो मूल्याङ्कनमा पुरेपु साङ्पो नदीमा थुनिएर बनेको ताल लगभग खाली भइसकेको र नदीको पानी सामान्य रूपमा बगिरहेको देखिएको हो।
यद्यपि, उक्त नदीमा मिसिने नेपालको छोचेन खोलामा भने ठूलो जोखिम कायमै रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार तालबाट करिब ५.६ किलोमिटर माथि नेपाली भूभागतर्फ रहेको छोचेन खोलाको एक गहिरो खाल्डोमा अझै करिब १४ लाख घनमिटर पानी जम्मा भएर बसेको छ। उक्त खाल्डो नदी थुनिएर बनेको तालभन्दा करिब ८०० मिटर उचाइमा रहेको बताइएको छ।
भूउपग्रहबाट प्राप्त तस्बिरअनुसार शनिबार बिहान ११ः२३ बजेसम्म उक्त खाल्डोमा पानीको सतह करिब १ लाख ८ हजार वर्गमिटर रहेको थियो। यो क्षेत्रफल बिहान ७ बजेको तुलनामा १९ हजार वर्गमिटरले घटेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, खाल्डोबाट करिब २.५ किलोमिटर तल्लो तटीय क्षेत्रमा थप तीनवटा जलमग्न क्षेत्र पहिचान गरिएको छ। ती तीन क्षेत्रको कुल क्षेत्रफल ७० हजार वर्गमिटरभन्दा कम रहेको मन्त्रालयले जनाएको छ।
चीनको जलस्रोत मन्त्रालयले छोचेन खोलामा रहेको खाल्डो तथा तल्लो तटीय क्षेत्रका तीन जलमग्न स्थानले अझै पनि ‘महत्त्वपूर्ण जोखिम र लुकेका खतरा’ निम्त्याइरहेको चेतावनी दिएको छ।
यसैबीच, शनिबार नेपालतर्फ गएको पहिरोपछि पुरेपु साङ्पो नदीमा थुनिएको तालभन्दा करिब २.८ किलोमिटर तल अर्को नयाँ ताल बनेको पनि मन्त्रालयले जनाएको छ। माथिल्लो क्षेत्रबाट आएको पानीको बहावका कारण उक्त नयाँ ताल फुटिसकेको र अहिले नदीको पानी सामान्य धारमा बगिरहेको बताइएको छ।
तर, नदी किनारका विभिन्न क्षेत्रमा नयाँ पहिरो जाने र त्यसका कारण पुनः नदी थुनिएर नयाँ ताल बन्न सक्ने जोखिम भने अझै रहेको मन्त्रालयले जनाएको छ।
सिचाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार नेपाल–चीन सीमास्थित जिरोङ बन्दरगाह क्षेत्रमा गएको पहिरोमा परी शनिबार साँझ ६ बजेसम्म १६ जनाको मृत्यु भएको छ। घटनामा ५४६ जना अझै बेपत्ता रहेको विभागले जनाएको छ।














