शव व्यवस्थापनबारे ‘फोकटको सल्लाह’  दिने सहसचिवलाई सरकारले कोसीबाट पठायो टिमुरे

Image

विपद्का बेला प्राकृतिक प्रकोप तथा महामारीमा शव व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने विषयमा सामाजिक सञ्जालमा स्टाटस लेखेका कोसी प्रदेशका सहसचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवाको टिमुरे क्षेत्रमा खटाइएको छ।

कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव (सहसचिव)निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १४ गतेको मन्त्रिस्तरीय निर्णयबाट रसुवा पठाएको हो।

मन्त्रालयले उनलाई टिमुरे क्षेत्रलाई मुख्य कार्यक्षेत्र बनाएर शव व्यवस्थापन, खोज तथा उद्धारसम्बन्धी काममा खटाएको जनाएको छ। अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएका निरौलाले जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गरी कार्यसम्पादन गर्नेछन्।

निरौला हाल कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन्। यसअघि उनी कोभिड–१९ महामारीका बेला मोरङका प्रमुख जिल्ला अधिकारी थिए। सोही अनुभवका आधारमा उनले शनिबार सामाजिक सञ्जालमार्फत विपद्का समयमा शव व्यवस्थापन गर्दा अपनाउनुपर्ने सावधानीबारे धारणा सार्वजनिक गरेका थिए।

उनले मृतक तथा आफन्तको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको सम्मान गर्दै शव व्यवस्थापन गर्नुपर्ने बताएका थिए। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि आफन्त गुमाएकाहरूको पीडालाई ध्यानमा राख्दै शव व्यवस्थापनमा हतार नगर्न र आफन्तको भावनामा चोट पुग्ने कुनै काम गर्न नहुने उनको सुझाव थियो।

निरौलाले उक्त स्टाटस लेखेको भोलिपल्टै उनलाई कोसी प्रदेशबाट रसुवाको टिमुरे खटाइएको हो। यद्यपि, मन्त्रालयबाट काजको निर्णय भएपछि उनले सामाजिक सञ्जालमा राखेको उक्त स्टाटस हटाइसकेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव धोलकराज ढकालद्वारा हस्ताक्षरित पत्रमा भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै अनुभवी कर्मचारी आवश्यक भएकाले निरौलालाई टिमुरे क्षेत्रमा खटाइएको उल्लेख छ।

पत्रअनुसार निरौलाको सेवा–सुविधा भने अर्को व्यवस्था नभएसम्म कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाटै भुक्तानी हुनेछ।