नासाद्वारा नयाँ र शक्तिशाली स्पेस टेलिस्कोप प्रक्षेपण

Image

 नासाले नयाँ र शक्तिशाली स्पेस टेलिस्कोप प्रक्षेपण गरेको छ । डार्क इनर्जी, ब्ल्याक होल र ब्रह्माण्डका अन्य रहस्यको खोज गर्ने उद्देश्यले नासाको नयाँ पुस्ताको शक्तिशाली स्पेस टेलिस्कोपले फ्लोरिडास्थित प्रक्षेपण स्थलबाट अन्तरिक्षतर्फ उडान भरेको हो ।

नेन्सी ग्रेस रोमन स्पेस टेलिस्कोपले अन्तरिक्षका व्यापक र मनोरम दृश्यहरू खिच्नेछ । नासाका अनुसार यसको हेर्ने क्षेत्र हबल र जेम्स वेब स्पेस टेलिस्कोपको तुलनामा १०० गुणा ठूलो छ ।

यो मिसन पृथ्वीबाट करिब १० लाख माइल टाढा रहेको उपयुक्त कक्षीय विन्दु तर्फको १०० दिने यात्राबाट सुरु भएको हो । त्यहाँ पुगेपछि टेलिस्कोपले एक्सोप्ल्यानेट’ भनिने हाम्रो सौर्यमण्डल बाहिर रहेका ग्रहहरूको नक्सांकन तथा अध्ययन गर्न थाल्ने बताइएको छ ।

नासाकी प्रशासक निक्की फक्सले भनिन्, “रोमनले ब्रह्माण्डलाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन ल्याउनेछ ।” टेलिस्कोपको सफल प्रक्षेपण स्थानीय समयअनुसार आइतबार बिहान फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट गरिएको थियो । प्रक्षेपणपछि आयोजित पत्रकार सम्मेलनमा नासाको रोमन टेलिस्कोपकी परियोजना व्यवस्थापक ज्याकी टाउन्सेन्डले प्रक्षेपणलाई शानदार”बताइन् । उनले भनिन्, “यो यात्रा निकै भव्य थियो । यसले हामीलाई ठ्याक्कै हामीले चाहेकै ठाउँमा पुर्‍याएको छ ।”

प्रक्षेपणको करिब ३० मिनेटपछि रोमन टेलिस्कोप आफ्नो स्पेसएक्स रकेटबाट अलग भएको थियो । अहिले यो पृथ्वीबाट करिब १० लाख माइल टाढा रहेको आफ्नो कक्षीय विन्दुतर्फ अघि बढिरहेको बताइएको छ ।