बाढी प्रभावित क्षेत्र नुवाकोटको एउटा घरभित्रबाट २४ वटा शव भेटिएको छ। सोमबार विदुर नगरपालिका-१० स्थित बेत्रावतीमा रहेको एउटा घरबाट २४ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए। उनका अनुसार घरभित्र आज पनि खोजी हुँदैछ।
‘बेत्रावतीको एउटा घरमा २४ वटा शव भेटिएको छ। अरू खोज्दैछौं। आजसम्म कति वटा छन् भन्ने यकिन विवरण आउँछ,’ उनले भने। उक्त घर कसको र एकै घरमा ठूलो संख्यामा शव भेटिएको कारणबारे बुझ्ने काम भइरहेको बताए। शव एउटै कोठाभित्र असरल्ल छरिएको अवस्थामा देखिएको छ ।
शव घरको माथिल्लो तलाको एउटै कोठामा भेएिको जनाइएको छ । ‘ घण्टी घरभन्दा अलिमाथिको घरमा हो। घर कसको हो भन्ने बुझ्न पाएका छैनौं। वडाध्यक्षज्यूको सम्पर्क हुन सकेको छैन। होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ तर यकिन हुन सकेको छैन। कन्फर्म गर्ने प्रयास गर्दैछौं,’ उनले भने।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। सोमबारसम्म ९ सय भन्दा बढीको शव फेला परिसकेको छ भने हजारौंको संख्यामा मानिसहरू सम्पर्कबिहीन छन् ।
तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएर खोजी तथा उद्धारको काम गरिरहेका छन्।












