रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको फरेन्सिक परीक्षण तथा डीएनए नमूना सङ्कलन गरिएको छ।
फरेन्सिक परीक्षण र आवश्यक जैविक नमूना सङ्कलनपछि ती शवलाई चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखि सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याएर संरक्षण गरेका थिए। भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक परीक्षण, डीएनए तथा अन्य जैविक नमूना सङ्कलन र अभिलेखीकरणको काम सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव सङ्कलन गरिएको छ। तीमध्ये १२ शवको सनाखत भइसकेको छ भने आफन्तले शव बुझिसकेका छन्।
सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ जनाको पहिचान खुल्न नसकेको वा अवस्था यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भविष्यमा शवको पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो।
भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव देवघाटस्थित व्यवस्थापन स्थलमा व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।
उनका अनुसार नदी तथा नदी किनारमा शव खोजी कार्य अझै दैनिक रूपमा जारी छ। नदीबाट फेला परेका शवलाई भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण तथा डीएनए नमूना सङ्कलन गरेपछि देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको छ।
प्रहरीले फेला परेका शवको पहिचान तथा आफन्तसम्म पुर्याउने प्रक्रिया सहज बनाउन आवश्यक विवरण र जैविक नमूना सुरक्षित राखिएको जनाएको छ।












