अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र बिचौलियालाई ६४ हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ।
अख्तियारले कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौँ) दीपा कार्की र मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई पक्राउ गरेको हो।
अख्तियारका अनुसार उनीहरूले स्ट्रक्चर एनालाइसिसको काम स्वीकृत गरेबापत सेवाग्राहीसँग घुस रकम मागेका थिए। उनीहरूलाई रकम लिइसकेको अवस्थामा नगरपालिकाको कार्यालय थली डाँछीबाट सोमबार पक्राउ गरिएको अख्तियारले जनाएको छ।
उनीहरूविरुद्ध विशेष अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।













