मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

Image

 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार तथा खोजीमा खटिने नेपाल प्रहरीसँग पर्याप्त स्रोतसाधन नभएको भन्दै सरकारसँग प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै झाले भोटेकोशी बाढीका बेला सुरक्षाकर्मीले सीमित स्रोतसाधनका बीच जोखिम मोलेर काम गरेको उल्लेख गर्दै प्रहरीको क्षमता र स्रोतसाधनबारे प्रश्न उठाएका हुन्।

‘सुरक्षाकर्मीले स्रोतसाधनको कमीका बाबजुद काम गर्नुभएको छ। आफ्नै साथीलाई भोटेकोशीले बगाएर बेपत्ता बनाउँदा पनि काम गर्नुभएको छ,’ उनले भने।

उनले विपद्को समयमा प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक उपकरण र हवाई साधनको व्यवस्था हुनुपर्ने बताए।

‘एउटा कुरा चाहिँ हामीले सोच्नुपर्ने भएको छ। हाम्रो प्रहरीसँग एउटा पनि हेलिकप्टर छैन। विदेशमा टेलिभिजनसँग हेलिकप्टर हुन्छ। के प्रहरीले चाहिँ लाठीकै भरमा खट्नुपर्ने हो ?’ झाले प्रश्न गरे।

उनले विदेशी समाचार च्यानलहरूसँग समेत आफ्नै हेलिकप्टर हुने गरेको उदाहरण दिँदै नेपाल प्रहरीको उद्धार क्षमता बढाउन राज्यले आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने बताए।

‘विदेशमा न्यूज च्यानलका पनि दुई-दुईवटा हेलिकप्टर हुन्छन् तर हाम्रो प्रहरी सधैँ लाठीकै भरमा काम गर्नुपर्ने हो ?’ उनले भने।

भोटेकोशी बाढीमा सुरक्षाकर्मीले आफ्नै सहकर्मीलाई गुमाउँदा पनि खोज, उद्धार तथा राहतमा निरन्तर खटिएको भन्दै झाले उनीहरूको कामको प्रशंसा गरे। तर विपद्का बेला सुरक्षाकर्मीलाई जोखिममा मात्र पठाउने नभई आवश्यक प्रविधि, उपकरण र हवाई साधनले सुसज्जित बनाउनुपर्ने उनको भनाइ थियो।

झाले विपद् व्यवस्थापनमा राज्यको तयारी कमजोर देखिएको भन्दै आगामी दिनमा प्रहरीसहितका सुरक्षा निकायको उद्धार क्षमता बढाउन लगानी गर्नुपर्ने बताए।

उनले भोटेकोशी बाढीबाट भएको क्षतिलाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले विकसित देशबाट राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति माग गर्नुपर्ने विषय पनि उठाए।

‘हामीले उनीहरूसँग राहत होइन, क्षतिपूर्ति माग्नुपर्छ। उनीहरूलाई राहत पठाइदेओ भन्ने होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति देओ भन्न सक्नुपर्छ,’ उनले भने।