अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्णनारायण यादवलाई ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।
गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गर्न सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर यादवलाई घुस रकमसहित पक्राउ गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
साथै, अख्तियारले स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँ पनि बरामद गरेको छ ।
यादवलाई इटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको हो । विशेष अदालतबाट म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।












