उद्योगीले बढाए ग्यासको मूल्य, सरकारले नै दियो अनुमति

Image

उद्योगीले खाना पकाउने ग्यासको भाउ बढाएका छन्। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको बहानामा उद्योगीले ग्यासको भाउ प्रतिसिलिन्टर १ सय ५ रुपैयाँ १८ पैसा बढाएका हुन्।

मूल्य बढेसँगै अब प्रतिसिलिन्डर ग्यासको भाउ दुई हजार ६० रुपैयाँबाट बढेर २१ सय ६५ रुपैयाँ १८ पैसा पुगेको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि नै लागू हुने व्यवसायीले बताएका छन्।

यही भदौ १६ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाउँदा व्यसायीलाई भने आफूखुसी मूल्य वृद्धि गर्न बाटो खोलिदिएको थियो। 

निगमको डिपो, कार्यालयदेखि १५ किलोमिटर तथा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि साविकको मूल्यमै पेट्रोलियम पदार्थ बेच्नुपर्ने र त्यो भन्दा लामो रुटमा ढुवानी गर्दा थप मूल्य लिन पाउने गरी निगमले बाटो खोलिदिँदा व्यवसायीले आफूखुसी मूल्य बढाएका हुन्। 

निगमले गत मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि दुई हजार ६० रुपैयाँ प्रतिसिलिन्डर मूल्य कायम गरिएको उल्लेख छ। यसको अर्थ, ग्यास उद्योगदेखि ५० किलोमिटरभन्दा टाढाका उपभोक्तालाई भने ढुवानी लागतअनुसार मूल्य तोक्न निगमले नै स्वीकृति दिएको थियो। 

त्यसअघिका कुनै पनि विज्ञप्तिमा निगमले ग्यासको भाउ ५० किलोमिटरभन्दा परको दूरीमा ढुवानी लागतअनुसार निर्धारण हुनेबारे उल्लेख गरेको थिएन।