‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको स्मृतिमा सिंहदरबारस्थित संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ । जेनजी सहिदको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको पार्क आइतबार (भदौ २१) शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा सञ्चारकर्मीसँग गृहमन्त्री सुधन गुरुङले देशका निम्ति आफ्नो ज्यान आहुति दिने जेनजीका सपना पूरा गर्ने बाटोमा सरकार लागिपरेको बताए । आन्दोलनका क्रममा देखिएको सपना, सहिदको बलिदान र जनताका अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि यसमा सरकार दृढताका साथ अघि बढ्ने उनले उल्लेख गरे ।
मन्त्री गुरुङले पार्क निर्माणले मात्र सहिदले ‘न्याय पाउन नसक्ने’ भन्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका निम्ति भएका आन्दोलनले महत्त्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गरे । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।
उनले सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी सहिदको सम्झनामा पार्क निर्माण गर्ने निर्णय गरेको थियो । हिमालयन टेली भ्वाइस














