नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : परराष्ट्रमन्त्री

Image

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

शनिबार (भदौ २७) काठमाडौंमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसलिजमले आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।

उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे । हिमताल विस्फोट र अरू प्राकृतिक प्रकोपबाट बच्न रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास गरिनुपर्नेमा उनले जोड दिए ।

नेपाली चिया, कफी र जडीबुटीलाई चिनियाँ बजारमा सहज पहुँच दिन देशमै अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक रहेको उनले धारणा राखे ।

उनले भृकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान्, विद्यार्थी, अनुसन्धानकर्ता र व्यापारीमार्फत जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरे ।