एकीकृत आयरल्यान्डका पक्षमा ट्रम्प, फेरि तात्यो संवेदनशील बहस

Image

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्र एकीकरणको समर्थन दोहोर्‍याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताएका छन्। उनको अभिव्यक्तिले उत्तरी आयरल्यान्डको संवैधानिक भविष्यबारेको संवेदनशील बहसलाई पुनः तताएको छ।

दुनबेगस्थित आफ्नो गल्फ कोर्समा आइतबार आइरिस ओपनमा सहभागी हुने क्रममा उनले यस्तो धारणा राखेका हुन्। यसअघि शनिबार पनि उनले आयरल्यान्डको एकीकरणको सम्भावनालाई ‘उत्कृष्ट’ बताएका थिए। आयरल्यान्डका प्रधानमन्त्री मिचेल मार्टिनले भने यस विषयमा शान्त र संयमित दृष्टिकोण अपनाउन आग्रह गरेका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो धारणा व्यक्तिगत राय भएको र त्यसलाई व्यापक समर्थन प्राप्त भएको बताए। आयरल्यान्डको विभाजनपछि उत्तरी आयरल्यान्डका छ काउन्टी संयुक्त अधिराज्यमै छन्। एकीकरण समर्थक राष्ट्रवादी र बेलायतमै रहन चाहने युनियनवादीबिचको विभाजनले सन् १९६० को दशकको अन्त्यदेखि दशकौँ लामो हिंसा निम्त्याएको थियो। ‘द ट्रबल्स’ भनिने उक्त द्वन्द्वमा करिब तीन हजार छ सय जनाको मृत्यु भयो।

सन् १९९८ को गुड फ्राइडे सम्झौताले हिंसा अन्त्य गर्दै उत्तरी आयरल्यान्डको संवैधानिक भविष्य जनताको इच्छामा निर्भर रहने व्यवस्था गरेको छ। सम्झौताअनुसार एकीकरणको पक्षमा बहुमत पुग्ने पर्याप्त आधार देखिएमा जनमतसङ्ग्रह गर्न सकिनेछ। बेलायत सरकारले भने त्यस्तो मतदानका लागि आवश्यक अवस्था अझै नबनेको बताइरहेको छ।

उत्तरी आयरल्यान्डका डेमोक्र्याटिक युनियनिस्ट पार्टीका नेता गेभिन रोबिन्सनले राष्ट्रपति ट्रम्पको टिप्पणीको आलोचना गर्दै संवैधानिक भविष्य त्यहाँका जनताले नै निर्धारण गर्ने बताएका छन्। ब्रिटिस सरकारले पनि गुड फ्राइडे सम्झौताप्रतिको आफ्नो समर्थन दोहोर्‍याउँदै जनमतसङ्ग्रहका लागि आवश्यक परिस्थितिमा मात्र विचार गरिने जनाएको छ।