भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

Image

जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ । 

एक महिनामा भएका अपराधका घटनाबारे जानकारी दिँदै परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले दर्ता भएका मुद्दामध्ये ५७ वटा फर्छ्योट भएका बताए । 

एक महिनाको अवधिमा भक्तपुरमा जघन्य अपराधतर्फ एउटा, जबर्जस्ती करणी पाँच, लागूऔषधका तीन र हातहतियार खरखजनातर्फ एउटा मुद्दा दर्ता भई कारबाहीका लागि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

आर्थिक अपराधतर्फ कुल ९६ वटा मुद्दा दर्ता भएकामा सबैभन्दा बढी बैंकिङ कसुरका ७७ वटा र ठगीका १९ वटा मुद्दा रहेको तथा १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

त्यसैगरी, अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६५ प्रतिवादी पक्राउ गरिएका र कुल ४४ वर्ष छ महिना तीन दिन कैद सजाय भुक्तानका लागि पठाइएको उनले जानकारी दिए । सो क्रममा एक करोड २२ लाख १९ हजार रुपैयाँ जरिवाना असुली गरिएको छ ।

त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएको घरेलु हिंसातर्फ परेका १३ वटा उजुरी परेको, जिल्लामा कुल २३ वटा सवारी दुर्घटनामध्ये एक जनाको मृत्यु र ३५ जना घाइते भएको, दुई हजार ९४७ वटा सवारी साधनका चालकलाई कारबाही गरी १३ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । 

प्रहरीले सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गर्नुका साथै कर्तव्य ज्यान मुद्दा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए ।