त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ।
‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,’ डा. राईले भने।
घाइते चालकलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वर चोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा भीषण आगलागी भएको थियो। आगलागी भएको बसको नम्बर बा ५ ख ४२७४ रहेको छ।
बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले नै बसमा आगो लगाएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














