एमाले सचिवालय बैठक च्यासलमा सुरु, स्थायी कमिटी र पोलिटब्युरो टुंगो लगाउने तयारी

Image

सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ। बिहीबार बिहान १० बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो।

बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूको नामावली टुंगो लगाउने तयारी गरेको छ। यस्तै, विभिन्न विभागलाई पूर्णता दिने तथा भौगोलिक र गैरभौगोलिक कमिटीमा सह–इन्चार्ज तोक्ने विषयमा पनि छलफल भइरहेको छ।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार सचिवालय बैठकले नेताहरूको नयाँ कार्यविभाजनसम्बन्धी प्रस्ताव पारित गर्नेछ। उक्त प्रस्ताव अनुमोदनका लागि आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ।

सचिवालय बैठक सम्पन्न भएपछि केही दिनदेखि जारी एमालेको केन्द्रीय कमिटी बैठक पनि बिहीबार नै पुनः बस्ने कार्यक्रम रहेको छ।

केन्द्रीय कमिटी बैठकमा सचिवालयबाट पेस हुने कार्यविभाजनसम्बन्धी प्रस्तावलगायतका विषयमा छलफल गरी आवश्यक निर्णय लिइने एमालेले जनाएको छ।