रुसमा सैन्य विमान दुर्घटना, ६ जनाको मृत्यु

Image

आणविक हतियार बोक्न सक्ने क्षमताको रुसी ‘टीयू–९५’ सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मंगलबार तालिम उडानका क्रममा उक्त विमान दुर्घटनामा परेको हो ।

रुसी रक्षा मन्त्रालयका अनुसार, उडान भरेको केही समयपछि नै राजधानी मस्कोबाट करिब चार हजार किलोमिटर टाढा रहेको एक निर्जन क्षेत्रमा विमान खसेको थियो । जमिनमा ठोक्किएपछि विमानको इन्धन ट्यांकी विस्फोट हुँदा भीषण आगलागी भएको बताइएको छ ।

टीयू–९५ले हावामा पुनः इन्धन नभरी करिब १० हजार ५०० किलोमिटरसम्म उडान गर्न सक्छ । यसले करिब ९ हजार किलोग्रामसम्म हतियार बोक्न सक्ने क्षमता राख्छ ।

रुसी अधिकारीहरूले दुर्घटनाको सटीक कारण खुलाएका छैनन् । प्रारम्भिक अनुसन्धानमा भने विमानमा इन्धन विस्फोट भएको हुन सक्ने सम्भावना औँल्याइएको छ । रुसी समाचार एजेन्सी तासका अनुसार, दुर्घटनाका बेला विमानमा कुनै आणविक हतियार वा अन्य युद्ध सामग्री थिएन ।

रुसले घटनाबारे उच्चस्तरीय छानबिनको आदेश दिएको छ । ‘मस्को टाइम्स’का अनुसार दुर्घटनामा परेको विमान रुसको प्रमुख लामो दुरीको वायुसेना अखडामध्ये एक युक्रेनका एयरबेसमा तैनाथ थियो । दुर्घटनास्थल उक्त एयरबेसबाट करिब ३० किलोमिटर उत्तरमा रहेको बताइएको छ ।

टीयू–९५ सोभियत संघको समयमा डिजाइन गरिएको लामो दूरीको रणनीतिक बमवर्षक विमान हो । यसको प्रयोग सन् १९५० को दशकदेखि रुसी लामो दूरीको सैन्य उड्डयनमा हुँदै आएको छ ।

यस विमानले आणविक हतियार बोक्न सक्ने क्रुज क्षेप्यास्त्र प्रहार गर्न सक्छ । लामो दुरीबाट शत्रुको भूभागमा आक्रमण गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।