नेपाल राष्ट्र बैंकले बुधबार (असोज १४) बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १ महिनाका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत व्यवस्थापन गर्न लागिएको हो । यसअघि राष्ट्र बैंकले असोज १२ गते १ महिनाकै लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरको थियो ।
आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ कात्तिक १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।
खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबारअन्तर्गत निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।
सोही व्यवस्थामा टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको हो ।













