नेपाल राष्ट्र बैंकले शुक्रबार (असोज १६) बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि पटक-पटक गरेर छोटा अवधिको निक्षेप संकलन गर्ने क्रममा यसपटक १ महिनाका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।
यसअघि असोज १४ गते १ महिनाकै लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरको थियो ।
आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ कात्तिक १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । ब्याजदर आज ३ बजे हुने अनलाइन बोलकबोलबाट निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।














