प्रदीप अधिकारीसँग जोडिएका ठेकेदार बस्नेत रक्तचन्दन प्रकरणमा पक्राउ

Image

१३ वर्षअघिको रक्तचन्दन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बस्नेतलाई शुक्रबार राति काठमाडौंस्थित मेरियट होटलबाट पक्राउ गरेको हो । सीआईबीकी एआईजी उमा चतुर्वेदीले बस्नेत पक्राउ परेको जानकारी दिएका हुन् ।

यसअघि वतन नखुलेको भन्दै बस्नेतविरुद्ध रक्तचन्दन तस्करी प्रकरणमा मुद्दा चलाइएको थिएन । उक्त प्रकरणमा रक्तचन्दन बरामद भएको ट्रकका चालक र सहचालकलाई भने जेल चलान गरिएको थियो । उनीहरू कैद भुक्तान गरेर छुटिसकेका छन् ।

बस्नेतको हकमा भने यकिन ठेगाना नखुलेको भन्दै ठेगाना खुलेपछि मुद्दा अघि बढाउने गरी मुद्दा दर्ता गरिएको थियो । पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा बस्नेतको ठेगाना खुलेपछि उनलाई अदालतमा उपस्थित गराउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेको थियो । सोही प्रक्रियाअनुसार तामेलीमा रहेको मुद्दा जगाएर उनलाई अदालतमा उपस्थित गराउने तयारी गरिएको हो ।

बस्नेत भ्रष्टाचार मुद्दा लागेर हाल कारागारमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग पनि जोडिएका थिए । प्रदीप अधिकारीसँग कनेक्सन देखिएपछि दोलखा घर भई हाल भक्तपुरको एक हाउजिङमा बस्दै आएका ३७ वर्षीय बस्नेत गत चैत २७ गते नेपालबाट भागेर जर्मनी पुगेका थिए । प्रहरीको अनुसन्धानमा रहेका उनी केही समयअघि मात्रै नेपाल आएको र रक्तचन्दन तस्करीमा पक्राउ परेका हुन् ।

अख्तियारले अधिकारी जोडिएको नलिञ्चोक हेलिपोर्टदेखि पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको बेला अख्तियारलाई प्रभावमा पारेर अनुसन्धान नै प्रभावित पार्ने प्रयासमा लागे पनि अधिकारी सफल हुन सकेका थिएनन् । पहिल्यैदेखि चिनजानमा रहेका र अधिकारीसँग नजिक रहेर काम गर्दै आएका नवीनराज बस्नेतमार्फत अख्तियारलाई मिलाउन प्रयास गरेका थिए ।

बस्नेत तिनै व्यक्ति हुन् जसले तीन वर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । यो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए । बस्नेतले प्रदिप अधिकारीसँग उग्रवादी संगठन खोलेर ज्यान मार्ने धम्की दिँदै अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा गर्न लगाउनेदेखि तान्त्रिक प्रयोग गर्नेसम्मका काम गरेका थिए ।