चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा कुल वैदेशिक व्यापार, आयात र निर्यात दुवैमा वृद्धि भएको छ ।
यस अवधिमा मुलुकले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशत बढी हो । गत आव असोजसम्ममा ४ खर्ब ६८ अर्ब ८ करोड हाराहारीमा आयात भएको थियो ।
यस्तै, मुलुकबाट १ खर्ब १४ अर्ब २८ करोड बढिको निर्यात भएको छ । यो गत आवको ३ महिनाको तुलनामा ५७.०३ प्रतिशत बढी हो । गत वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड बराबरको वस्तु निर्यात भएको थियो ।
यसअनुरुप गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड नाघेको भन्सार विभागको बुधबार (कात्तिक ११) सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
व्यापार घाटा ३४.७१ प्रतिशतले बढ्यो
निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको आकार ठूलो भएकाले कुल व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा थियो ।
यद्यपि, विभागको तथ्यांकअनुसार निर्यातमा आएको सुधारका कारण आयात–निर्यात अनुपात घट्न पुगेको छ । गत वर्ष १ रुपैयाँको निर्यात गर्दा ६.४३ रुपैयाँको आयात हुने गरेकोमा चालु वर्षमा यो अनुपात १२ प्रतिशतले घटेर ५.६६ मा झरेको देखिन्छ ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्षको १३.४६ प्रतिशतबाट ११.५९ प्रतिशतले बढेर १५.०२ प्रतिशत पुगेको छ । आयातको हिस्सा भने गत वर्षको ८६.५४ प्रतिशतबाट १.८० प्रतिशतले घटेर ८४.९८ प्रतिशतमा सीमित भएको छ ।














