नागढुंगा सुरूङमार्गमा कात्तिक १५ देखि टोल उठाइने

Image

नागढुंगा सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ।

नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै टोल शुल्क संकलन सुरू हुने जानकारी दिएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णयअनुसार शुल्क संकलन गर्न लागिएको हो।

आयोजनाले सार्वजनिक गरेको शुल्क विवरणअनुसार काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनले ६५ रूपैयाँ तिर्नुपर्नेछ। काठमाडौं प्रवेश नगरी सुरूङमार्गबाट बाहिरिने यस्ता सवारीसाधनका लागि ६० रूपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रूपैयाँ र बाहिरिँदा ८० रूपैयाँ तिर्नुपर्नेछ। बस तथा ट्रक (सिंगल रियर एक्सल) का लागि प्रवेश गर्दा २५० रूपैयाँ र बाहिरिँदा २०० रूपैयाँ शुल्क तोकिएको छ। मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रूपैयाँ र बाहिरिँदा २५० रूपैयाँ शुल्क लाग्नेछ।