इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि सरकार गठनको प्रक्रिया थप जटिल बनेको छ । निर्वाचनमा अरब समुदायको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले उल्लेख्य सफलता हासिल गरेसँगै उनीहरू नयाँ सत्ता समीकरणका निर्णायक शक्ति बनेका छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि नेतान्याहुको पार्टी लिकुडले अरब नेतृत्वका राजनीतिक दलमाथि विदेशी आर्थिक सहयोग लिएर निर्वाचन प्रभावित पारेको आरोप लगाएको छ । विशेषगरी कतार र टर्कीबाट अवैध आर्थिक सहयोग प्राप्त भएको हुन सक्ने आशंकामा इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटले अनुसन्धान थालेको बताइएको छ ।
तर, कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई ‘हास्यास्पद र खतरनाक’ भन्दै खारेज गरेको छ । कतारले आफ्नाविरुद्ध इजरायली राजनीतिज्ञहरूले दुष्प्रचार अभियान चलाएको आरोपसमेत लगाएको छ ।
यसैबीच, प्रमुख विपक्षी नेता गादी आइजेनकोटले निर्वाचनपछि राजनीतिक वातावरण प्रभावित पार्ने प्रयास गरेको भन्दै नेतान्याहुको आलोचना गरेका छन् । नेतान्याहुले विदेशी हस्तक्षेपको विषय उठाएर अरब नेतृत्वका राजनीतिक दलहरूको वैधतामाथि प्रश्न खडा गर्न खोजेको विपक्षीहरूको आरोप छ ।
सरकार गठनमा अरब दल निर्णायक
निर्वाचनको अन्तिम परिणामअनुसार नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ भने विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट जितेको छ । इजरायलको १२० सदस्यीय संसद् नेसेटमा कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत हासिल गर्न सकेनन् ।
यस निर्वाचनमा अरब समुदायको उल्लेख्य सहभागिताका कारण जोइन्ट लिस्ट र रामले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेका छन् । दुवै समूहले संयुक्त रूपमा १९ सिट जित्दै संसद्मा अहिलेसम्मकै ठूलो प्रतिनिधित्व कायम गरेका छन् ।
कुनै पनि गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि अरब नेतृत्वका यी दल सरकार गठनमा निर्णायक बन्न सक्ने देखिएको छ । विपक्षी नेता आइजेनकोटका लागि पनि अरब दलसँग सहकार्य गर्नु सत्तामा पुग्ने सम्भावित राजनीतिक विकल्पका रूपमा देखिएको छ ।
तर, अरब दलमाथि विदेशी हस्तक्षेपको आरोप लगाउँदै अनुसन्धान अघि बढाइएपछि यस्तो सहकार्य थप कठिन बन्न सक्ने राजनीतिक विश्लेषण गरिएको छ ।
निर्वाचन अनियमितताको आरोपमा प्रमाण भेटिएन
लिकुडले बिहीबार अरब दललाई मतदान गर्न मतदातालाई आर्थिक प्रलोभन दिइएको आरोप लगाएको थियो । यसअघि केन्द्रीय निर्वाचन समितिका प्रमुखले विदेशी हस्तक्षेपको आशंकासहित अनुसन्धान गर्न शिन बेटलाई आग्रह गरेका थिए ।
तर, दुवै अरब दलले आरोप अस्वीकार गरेका छन् । अरब समुदायको बहुमत समर्थन रहेको जोइन्ट लिस्टले आरोपलाई निराधार र राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार केन्द्रीय निर्वाचन समितिसमक्ष कतारले अरब समुदायको मतदान सहभागिता बढाउन आर्थिक सहयोग गरेको दाबी प्रस्तुत गरिएको थियो । यद्यपि कतारले त्यस्तो सहयोग गरेको आरोप पूर्ण रूपमा अस्वीकार गरेको छ ।
त्यस्तै, केन्द्रीय निर्वाचन समितिका कार्यवाहक महानिर्देशक डिन लिभ्नेले पनि निर्वाचनमा अनियमितता भएको दाबी पुष्टि गर्ने कुनै आधार नरहेको बताएका छन् ।
निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप र अरब दलको राजनीतिक भूमिकालाई लिएर इजरायलको राजनीति थप ध्रुवीकृत बनेको छ । सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने प्रयाससँगै नेतान्याहु र विपक्षी गठबन्धनबीचको राजनीतिक संघर्ष अझ चर्किने संकेत देखिएको छ ।














