इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अरब दलहरूसँग मिलेर सरकार नबनाउने अडान दोहोर्याएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल एक्समा अरब राजनीतिज्ञ तथा विपक्षी सांसदहरूका भाषण र अभिव्यक्तिका अंश समेटिएको भिडियो ‘सेयर’ गर्दै उनले उनीहरूसँग गठबन्धन गर्नु अस्वीकार्य रहेको बताए ।
नेतन्याहूले साझा गरेको भिडियोमा अहमद तिबी, इमान खतीब–यासीन, मन्सूर अब्बास, सामी अबू शेहादेह, ओफेर कासिफ, युसुफ जबरीन र अइमान ओदेहलगायत अरब राजनीतिज्ञ तथा सांसदका भनाइ समेटिएका छन् ।
भिडियोमा उनीहरूले प्यालेस्टिनी मुद्दाको समर्थन गरेका अभिव्यक्ति सुनिन्छन् । दक्षिणपन्थी यहुदी समूहहरूले यस्ता अभिव्यक्तिलाई देशविरोधी मान्दै आएका छन् ।
नेतन्याहूले अरब दलसँग गठबन्धन नगर्ने अडान राखे पनि सरकार गठनका लागि उनलाई आफ्नै समर्थक गुटभित्र सहमति जुटाउन चुनौती देखिएको छ ।
इजरायली समाचार संस्था एन१२ न्युजका अनुसार हारेदी समुदायका समाचारपत्रहरू ‘हमोडिया’ र ‘हमशबिज’ ले हारेदी दलहरूले आफूलाई नेतन्याहू नेतृत्वको गुटको हिस्साभन्दा अलग इकाइका रूपमा प्रस्तुत गर्न चाहेको जनाएका छन् ।
‘युनाइटेड तोराह जुडाइज्म’ (यूटीजे) का एक स्रोतले पनि आफ्नो पार्टी कुनै गुटको हिस्सा नरहेको बताएका छन् । नेसेटमा यूटीजेले सात र शासले ६ सिट पाएका छन् । यद्यपि, अर्थमन्त्री बेजालेल स्मोट्रिच नेतृत्वको ‘रिलिजियस जायोनिज्म’ र मन्त्री इतामार बेन ग्विर नेतृत्वको ‘ओत्जमा येहुदित’ नेतन्याहूको गुटबाट अलग हुने सम्भावना कम रहेको बताइएको छ ।
नेतन्याहूले सरकार गठनलाई आफ्नो जिम्मेवारी भएको बताएका छन् । उनले भने, “अब सबैभन्दा कठिन काम सुरु हुन्छ जो हो सरकार गठनको प्रयास । यो मंगलबार मतदानका लागि लाइनमा बसेका, विशेष यात्रा गरेर आएका र मतदान केन्द्रबाहिर आठ घण्टासम्म बसेर अरूलाई मतदानका लागि आग्रह गरेका मानिसहरूप्रतिको हाम्रो जिम्मेवारी हो ।”
इजरायलको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राष्ट्रिय निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै २६औँ नेसेटमा दलहरूको सिट संख्या पुष्टि गरेको छ । नयाँ संसद्को शपथग्रहण समारोह नोभेम्बर १० मा हुने तय भएको छ ।
‘द टाइम्स अफ इजरायल’का अनुसार नेतन्याहू नेतृत्वको लिकुड पार्टी २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । यशारले २१, बी’याचादले १२, संयुक्त सूचीले ११ तथा डेमोक्रेट्स र रा’अमले आठ–आठ सिट जितेका छन् ।
त्यस्तै, इजरायल बेतेनु, युनाइटेड तोराह जुडाइज्म र ओत्जमा येहुदितले सात–सात तथा शास र रिलिजियस जायोनिज्मले ६–६ सिट प्राप्त गरेका छन् । अन्तिम परिणामअनुसार नेतन्याहू समर्थक गुटसँग ५३, विपक्षी गुटसँग ४८ र अरब दलहरूसँग १९ सिट छन् । सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन नेतन्याहूको गुटलाई थप समर्थन आवश्यक रहेको बताइएको छ ।













