भोलि (कात्तिक १६ गते)देखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ।
सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।
गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण दुई दिन बिदा दिने निर्णय गरिएको भए पनि सरकारले त्यसलाई निरन्तरता दिँदै आएको छ।
आजसम्म सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको छ। हिउँदमा ५ बज्दा झमक्कै साँझ पर्ने भएकाले कार्यालय समय एक घन्टा कम गर्न लागिएको हो।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय साताको ५ दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने छ।

















