मध्यपूर्वमा इरानको आक्रमणले अमेरिकालाई कम्तीमा ५ अर्ब डलरको क्षति

Image

मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानले गरेको आक्रमणका कारण कम्तीमा ५ अर्ब डलरको क्षति भएको अनुमान गरिएको छ। 

अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) लाई उधृत गर्दै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले क्षतिको आँकडा १५ अर्ब डलरसम्म पुग्न सक्ने समाचार छापेको छ। 

रिपोर्टअनुसार युद्धको प्रारम्भिक चरणमा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा उल्लेखनीय क्षति भएको थियो।

वाल स्ट्रिट जर्नलका अनुसार इरानको आक्रमणले सात देशमा रहेका २७४ अमेरिकी सैन्य अड्डामा क्षति भएको हो। ती अड्डाहरूको पुनर्निर्माणमा मात्र ४ अर्ब डलरभन्दा बढी खर्च हुन सक्छ।

अखबारले लेखेको छ, पेन्टागनले अमेरिकी सैन्य अड्डाहरूमा भएको क्षतिबारे एकदमै कम मात्र जानकारी जारी गरेको छ। उपग्रह तस्बिरहरूको जाँच गर्दा पनि क्षतिको पूर्ण मात्रा पत्ता नलाग्न सक्छ।

पछिल्लो अनुमानले इरानविरुद्धको युद्धमा अमेरिकाको ४७ अर्ब डलरभन्दा बढी खर्च भएको छ। अझ यो तथ्यांकमा अमेरिकी सैन्य अड्डाहरूमा भएको क्षति समावेश छैन।