‘यमनमा साउदी नेतृत्व गठबन्धनको आक्रमण, सात जना घाइते’

Image

यमनको होदेइदाह प्रान्तस्थित रस इसा बन्दरगाह र तेल प्रशोधन केन्द्रमा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा सात जना घाइते भएको हुथी समूहले जनाएको छ ।

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलसबाहीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार रस इसा बन्दरगाहमा भएको आक्रमणमा चार जना सर्वसाधारण घाइते भएका छन् । त्यस्तै, बाजिल जिल्लास्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा थप तीन जना घाइते भएका छन् ।

हुथी समूहले तेल प्रशोधन केन्द्र र महत्वपूर्ण बन्दरगाहमा भएका आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भन्दै आपत्ति जनाएको छ । नागरिक र महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको उसको आरोप छ ।

यसअघि हुथी समूहको अल–मसीरा टेलिभिजनले रस इसा बन्दरगाहको एउटा घाट र व्यापारिक जहाजलाई समेत साउदी नेतृत्वको गठबन्धनले निशाना बनाएको जनाएको थियो ।

होदेइदाह बन्दरगाह हुथी समूहको नियन्त्रणमा रहेको सबैभन्दा ठूलो बन्दरगाह हो । हुथीहरूको नियन्त्रणमा रहेका क्षेत्रमा खाद्यान्न तथा मानवीय सहायता पुर्‍याउने प्रमुख प्रवेशद्वारका रूपमा यो बन्दरगाह रहेको छ । होदेइदाह सहरको उत्तरमा रहेको रस इसा बन्दरगाहबाट तेल आयात तथा भण्डारणसमेत गरिन्छ ।

हुथी सञ्चारमाध्यमले सोही प्रान्तस्थित होदेइदाह विश्वविद्यालयको चिकित्सा संकायलाई समेत आइतबार आक्रमण गरिएको जनाएको छ ।

यता, साउदी नेतृत्वको गठबन्धनले भने हुथी समूहले प्रयोग गर्दै आएका महत्वपूर्ण स्रोत तथा संरचनालाई निष्क्रिय पार्ने उद्देश्यले सटीक सैन्य कारबाही गरिएको बताएको छ ।

यमनमा इरान समर्थित हुथी समूह र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनबीच लामो समयदेखि द्वन्द्व जारी छ । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा सन् २०२२ मा भएको युद्धविरामले केही समय हिंसा कम गरे पनि गत जुलाईमा पुनः तनाव बढेको थियो ।

हुथीहरूले साउदी नियन्त्रणमा रहेको यमनी हवाई क्षेत्रमा अवहेलना गर्दै इरानी विमानलाई राजधानी सानामा अवतरण गर्न अनुमति दिएपछि युद्धविराम भङ्ग भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा युद्ध सुरु भएयता एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।