नाफा बुक गर्ने बढ्दा नेप्सेमा देखियो ३२ अंकको करेक्सन

Image

अघिल्लो हप्ता निरन्तर बढेको सेयर बजारमा यो साताको पहिलो दिन नै करेक्सन देखिएको छ । गत साता तीन दिन बजार बढ्दा दुई दिन सामान्य करेक्सन देखिएको थियो । 

सोमबार नेप्से सूचक ३२.६५ अंकले घटेर २६५७.५० अंकमा आइपुगेको हो । सूचक १.२१ प्रतिशतले घटे पनि लगानीकर्ताको कारोबारमा उत्साह भने कायमै देखिन्छ । 

गत साता लगानीकर्ताले न्यूनतम करिब चार अर्ब र अधिकतम पौने आठ अर्बबराबरको कारोबार गरेका थिए । सोमबार घटेको बजारमा पनि सात अर्ब १९ करोडको कारोबार गरेका हुन् ।

बजार खुलेबाट घट्न थालेपछि गत साताको बढाइबाट कमाएका लगानीकर्ता नाफा बुकमा लागेको देखिन्छ । 

यो दिन कारोबारमा आएका ३४३ कम्पनीमध्ये २१ वटाको मात्रै बढ्दा २५२ वटाको मूल्य घटेको पाइन्छ । बाँकी ६ वटाको मूल्य स्थिर रह्यो । 

सर्वाधिक बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी छ । यो कम्पनीको १३.५८ प्रतिशतले मूल्य बढेको छ । घट्नेमा सानिमा लार्ज क्याप फन्ड अग्रस्थानमा छ । यसको मूल्य ४.८६ प्रतिशतले घटेको हो ।

यस्तै आज लगानीकर्ताले घलेम्दी हाइड्रोको सबैभन्दा धेरै कारोबार गरेका छन् । यो कम्पनीको कुल ३७ करोडको कारोबार भएको हो ।